साफ च्याम्पियनसिप छुट्यो, अब नेपाली फुटबलको भविष्य के होला?
काठमाडौं : तीन दशकभन्दा लामो साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक नेपाल प्रतियोगिताबाट बाहिर रहने भएको छ। फिफाको निलम्बन कायमै रहेपछि नेपाली राष्ट्रिय फुटबल टोलीले १५औँ साफ च्याम्पियनसिप खेल्न नपाउने भएको हो।
नोभेम्बर ९ देखि १७ सम्म बंगलादेशको ढाकामा हुने प्रतियोगितामा नेपालबाहेक दक्षिण एसियाका ६ राष्ट्र सहभागी हुँदैछन्। समूह ‘ए’ मा आयोजक बंगलादेश, श्रीलंका र भुटान छन् भने समूह ‘बी’ मा भारत, माल्दिभ्स र पाकिस्तान छन्।
सन् १९९३ देखि साफमा निरन्तर सहभागी हुँदै आएको नेपाल सन् २०२१ मा पहिलोपटक फाइनल पुगेको थियो। भारतसँग ३–० ले पराजित भएपछि नेपाल उपविजेता बनेको थियो। तर पाँच वर्षपछि नेपाली टोली प्रतियोगिताको मैदानमै नदेखिने अवस्थामा पुगेको छ।
फिफा निलम्बनका कारण अन्तर्राष्ट्रिय अवसर खुम्चिँदै जाँदा यसको असर वर्तमान राष्ट्रिय टोलीमा मात्र नभई नयाँ पुस्ताका खेलाडीमा समेत पर्ने चिन्ता बढेको छ। पूर्वराष्ट्रिय खेलाडी नवीन न्यौपानेले अहिलेको अवस्थाले फुटबलमा एउटा पुस्ता नै हराउने जोखिम बढाएको बताएका छन्।
कुनै समय साफ उपाधिको सपना देखेको नेपाली फुटबलका लागि अहिले चुनौती ट्रफी जित्नेभन्दा पनि अन्तर्राष्ट्रिय मैदानमा फर्किने बनेको छ।
