महाधिवेशनको चहलपहलबीच कांग्रेसमा जिल्ला तहको जिम्मेवारी हेरफेर
काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया अघि बढिरहेका बेला जिल्ला तहमा नेतृत्व तथा महाधिवेशनसम्बन्धी जिम्मेवारी हेरफेर हुन थालेको छ। कैलालीमा पार्टी केन्द्रीय कार्यालयले जिल्ला सभापतिको जिम्मेवारी परिवर्तन गरेको छ भने बाजुरा र मोरङमा शेरबहादुर देउवा पक्षको महाधिवेशन तयारी समूहले जिल्ला संयोजक तोकेको छ।
कांग्रेस केन्द्रीय कार्यालयले कैलाली जिल्ला सभापति नारायणदत्त भट्टको सट्टा जिल्ला उपसभापति भीम बडुवाललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ। महामन्त्री प्रदीप पौडेलले पठाएको पत्रमा १५औँ महाधिवेशनअन्तर्गत कैलालीका जिल्ला मातहतका अधिवेशन सम्पन्न गर्न बडुवाललाई विशेष जिम्मेवारी दिइएको उल्लेख छ।
बडुवाललाई केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर अधिवेशनसम्बन्धी जिम्मेवारी पूरा गर्न निर्देशन दिइएको छ। कैलालीमा यसअघि वडा तहका अधिवेशनसमेत सम्पन्न भइसकेका छन्।
यसैबीच देउवा पक्षको १५औँ महाधिवेशन तयारी समितिले बाजुरामा धनराज पण्डितलाई जिल्ला संयोजक तोकेको छ। पण्डित कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा बाजुरा कांग्रेसका पूर्वसचिव हुन्। उक्त जिम्मेवारी तयारी समितिका संयोजक डा. शशांक कोइरालाले दिएका हुन्।
