‘झिल्को सानो हुन सक्छ, डढेलो भयङ्कर’ : बाबुराम भट्टराई
काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीमै युवाहरूबाट भएका आत्मदाह प्रयासलाई मुलुकको आर्थिक–सामाजिक अवस्था र राज्यप्रणालीप्रतिको गहिरिँदो निराशाको गम्भीर सङ्केतका रूपमा लिन आग्रह गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भट्टराईले गणेश नेपाली र दावा लामासँग जोडिएका आत्मदाह प्रयासका घटनाप्रति चिन्ता व्यक्त गरेका हुन्। यस्ता घटनाले युवामा निराशा र अविश्वास बढिरहेको संकेत गर्ने उनको भनाइ छ।
उनले सत्तामा रहेका र बाहिर रहेका राजनीतिक शक्तिसहित सबै सरोकारवालाले परिस्थितिको गम्भीरता समयमै बुझ्नुपर्ने बताएका छन्। आर्थिक, राजनीतिक तथा भू–राजनीतिक समस्याको दीर्घकालीन र संरचनात्मक समाधान नखोजिए सत्ता परिवर्तनले मात्र समस्या समाधान नहुने उनको धारणा छ।
भट्टराईले राजनीतिक दलहरूलाई उत्तेजक अभिव्यक्ति र मुठभेडको वातावरण सिर्जना नगर्नसमेत आग्रह गरेका छन्। एकअर्कालाई ‘देखाइदिने’ वा सडक संघर्ष चर्काउने किसिमका अभिव्यक्तिले समस्या थप जटिल बनाउन सक्ने उनले उल्लेख गरेका छन्।
“एउटै झिल्कोले भयङ्कर डढेलो लगाउन सक्छ,” भन्ने भनाइ उल्लेख गर्दै भट्टराईले युवाहरूमा देखिएको चरम निराशालाई सामान्य घटनाका रूपमा नलिन राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
