साउदी अरबमा सुरक्षा सतर्कता, राजधानी रियादमा हवाई खतराको चेतावनी 

रियाद : साउदी अरबको राजधानी रियादमा शनिबार बिहान ‘शत्रुतापूर्ण हवाई खतरा’ रहेको भन्दै आपतकालीन चेतावनी जारी गरिएको छ। यमनका इरान समर्थित हुथी समूहसँग पछिल्लो तनाव बढेयता राजधानी रियादमा यस्तो चेतावनी जारी गरिएको यो पहिलोपटक हो।

स्थानीय समयअनुसार बिहान करिब ३ बजे रियादका बासिन्दाको मोबाइलमा सम्भावित हवाई खतराको सूचना पठाउँदै घरभित्रै बस्न आग्रह गरिएको थियो। त्यसको केही समयपछि राजधानीमा दुईवटा ठूलो विस्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शी तथा समाचार संस्थाहरूले जनाएका छन्। करिब आधा घण्टापछि साउदी नागरिक सुरक्षा निकायले खतरा टरेको भन्दै ‘अल क्लियर’ जारी गरेको थियो।

विस्फोटपछि रियादको मुख्य विमानस्थल नजिक ठूलो कालो धुवाँको मुस्लो देखिएको थियो। रोयटर्सका तस्बिर तथा भिडियोमा विमानस्थल क्षेत्र नजिकै धुवाँ उठिरहेको देखिएको छ। घटनाबाट भएको क्षति वा मानवीय हताहतीबारे तत्काल आधिकारिक विवरण सार्वजनिक भएको छैन।

हुथी समूहले रियादका ‘संवेदनशील स्थल’ तथा लाल सागरस्थित यान्बुमा रहेको साउदी अराम्कोका संरचनालाई मिसाइल र ड्रोनमार्फत निशाना बनाएको दाबी गरेको छ। तर उक्त दाबीको स्वतन्त्र पुष्टि भएको छैन र साउदी अधिकारीहरूले तत्काल त्यसबारे विस्तृत प्रतिक्रिया दिएका छैनन्।

पछिल्ला दिनमा हुथी समूहबाट साउदी अरबतर्फ ड्रोन तथा मिसाइल आक्रमण बढेपछि क्षेत्रीय सुरक्षा तनाव थप चर्किएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ