नेदरल्यान्ड्समा आप्रवासनविरोधी प्रदर्शन उग्र, प्रहरीसँग झडप
द हेग : नेदरल्यान्ड्सको द हेगमा आप्रवासन तथा शरणार्थी नीतिको विरोधमा आयोजित प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले हस्तक्षेप गरेको छ। शनिबार ‘Wij zijn het volk’ अर्थात् ‘हामी जनता हौँ’ नामक प्रदर्शनमा सयौँ मानिस सहभागी भएका थिए।
प्रहरीका अनुसार प्रदर्शनका क्रममा केही सहभागीले प्रहरीमाथि आतिशबाजी तथा अन्य वस्तु प्रहार गर्नुका साथै तोडफोड गरेका थिए। स्थिति नियन्त्रणबाहिर जान थालेपछि दंगा नियन्त्रण प्रहरी परिचालन गरिएको थियो र पानीको फोहोरा समेत प्रयोग गरिएको थियो।
हिंसा जारी रहेपछि स्थानीय प्रशासनले प्रस्तावित जुलुस रद्द गर्दै प्रदर्शन अन्त्य गर्न आपतकालीन आदेश जारी गरेको थियो। प्रहरीले प्रदर्शनकारीलाई द हेग सेन्ट्रल स्टेसनतर्फ हटाएको थियो। घटनामा २४ जना पक्राउ परेको नेदरल्यान्ड्स प्रहरीले जनाएको छ। उनीहरूमाथि आपतकालीन आदेश उल्लंघन तथा निषेधित हतियार राखेको लगायतका आरोपमा अनुसन्धान भइरहेको छ।
नेदरल्यान्ड्सका न्यायमन्त्री डेभिड भान वीलले प्रदर्शनका क्रममा नाजी सलाम, यहुदीविरोधी नारा र प्रहरीमाथि हिंसा भएको भन्दै घटनाको निन्दा गरेका छन्। प्रहरीले पनि केही प्रदर्शनकारीबाट यहुदीविरोधी नारा तथा संकेत प्रयोग भएको जनाएको छ।
प्रदर्शन मुख्य रूपमा सरकारको आप्रवासन तथा शरणार्थी नीतिको विरोधमा आयोजना गरिएको थियो। अधिकारीहरूले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।
