उत्तर कोरियाद्वारा नयाँ हतियार प्रणाली परीक्षण, हाइपरसोनिक मिसाइल हुन सक्ने संकेत
सोल : उत्तर कोरियाले नयाँ प्रकारको हतियार प्रणालीको सफल परीक्षण गरेको दाबी गरेको छ। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम KCNA का अनुसार आइतबार नेता किम जोङ उनको उपस्थितिमा उक्त परीक्षण गरिएको हो। उत्तर कोरियाले यसलाई हतियार प्रविधिको विकासमा महत्वपूर्ण उपलब्धि भनेको छ।
उत्तर कोरियाले हतियारको प्रकार स्पष्ट रूपमा खुलाएको छैन। तर सार्वजनिक गरिएका तस्बिर र परीक्षणको निगरानी स्क्रिनमा देखिएको विवरणले यो Hwasong-11Ma नामको हाइपरसोनिक प्रणालीसँग सम्बन्धित मिसाइल हुन सक्ने संकेत गरेको छ। उत्तर कोरियाले यसअघि पनि उक्त प्रणालीलाई हाइपरसोनिक हतियारका रूपमा वर्णन गरेको थियो।
दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले आइतबार पूर्वी तटीय क्षेत्र वोन्सानबाट करिब तीन घण्टाको अन्तरमा दुईवटा छोटो दूरीका ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको थियो। दक्षिण कोरियाले ती मिसाइलले क्रमशः करिब ४५० र ६०० किलोमिटर दूरी तय गरेको जनाएको छ। जापानका अनुसार मिसाइलहरू जापानको विशेष आर्थिक क्षेत्रबाहिर समुद्रमा खसेका थिए।
KCNA ले सार्वजनिक गरेको निगरानी स्क्रिनमा भने करिब ९०८ किलोमिटर उडान दूरी देखाइएको थियो। दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले सार्वजनिक गरेका प्राविधिक दाबीहरूको थप विश्लेषण भइरहेको र ती विवरण स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिने जनाएको छ।
किम जोङ उनले नयाँ हतियार प्रविधिले देशको युद्ध तयारी र सशस्त्र सेनाको आधुनिकीकरणलाई थप बलियो बनाउने बताएका छन्। पछिल्लो परीक्षण कोरियाली प्रायद्वीपमा सैन्य तनाव र अमेरिका–उत्तर कोरिया संवाद पुनः सुरु गर्ने प्रयासबारे चर्चा भइरहेका बेला भएको हो।
