त्रिशूली–१ को सुरुङमा खोजी जारी, थप ११ शव निकालियो 

Content:रसुवा : माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट शनिबार थप ११ जनाको शव निकालिएको छ। भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा अडिट–३ सुरुङभित्र ती शव फेला परेका हुन्।

नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधि सहितको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र खोजी गर्दा फलामे जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा शवहरू फेला पारेको थियो। फेला परेका सबै ११ शव शनिबार नै बाहिर निकालिएको छ।

यसअघि शुक्रबार पनि सोही सुरुङबाट शवहरू निकालिएका थिए। बाढीपछि आयोजनामा कार्यरत तथा त्यस क्षेत्रमा रहेका केही व्यक्ति अझै सम्पर्कविहीन रहेकाले सुरुङ तथा आयोजनास्थलमा खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।

फेला परेका शवहरूको पहिचान खुलाउने प्रक्रिया अघि बढाइने बताइएको छ। सुरुङभित्र अझै खोजी जारी रहेकाले थप विवरण आउन बाँकी छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ