आर्थिक अनियमितताको उजुरीपछि एन्फामा सीआईबीको छापा 

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)को सातदोबाटोस्थित मुख्यालयमा शुक्रबार छापा मारेको छ।

एन्फामा आर्थिक अनियमितता भएको भन्दै परेको उजुरीमाथि अनुसन्धान गर्ने क्रममा सीआईबीको टोली कार्यालय पुगेको हो। सीआईबीले अनुसन्धानका लागि आवश्यक केही कागजात नियन्त्रणमा लिएको जनाएको छ।

सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले अनियमितताको आशंकामा अनुसन्धान भइरहेको पुष्टि गरेका छन्। अनुसन्धानका क्रममा एन्फाका केही पदाधिकारीसँग समेत सोधपुछ गरिएको छ।

एन्फाको आर्थिक कारोबार तथा संघ सञ्चालनका क्रममा अनियमितता भएको दाबीसहित उजुरी परेपछि सीआईबीले प्रारम्भिक अनुसन्धान अघि बढाएको हो। अनुसन्धान जारी रहेकाले उजुरीमा उठाइएका सबै विषय र सम्भावित कारबाहीबारे विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ