अमेरिकाको नयाँ कदम, प्यालेस्टिनी अधिकारीको भिसामा थप कडाइ
वासिङ्टन : अमेरिकाले संयुक्त राष्ट्रसंघको महासभाअघि प्यालेस्टिनी प्राधिकरण (PA) का अधिकारी र प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (PLO) का सदस्यमाथिको भिसा प्रतिबन्ध विस्तार गरेको छ। प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससमेत यसबाट प्रभावित भएका छन्।
अमेरिकी विदेश मन्त्रालयले प्यालेस्टिनी पक्षले विगतका प्रतिबद्धता पूरा नगरेको तथा इजरायलसँगको विवादलाई अन्तर्राष्ट्रिय अदालत र संस्थामा लैजाने गतिविधि जारी राखेको भन्दै प्रतिबन्ध विस्तार गरिएको जनाएको छ।
प्यालेस्टिनी पक्षले भने अमेरिकी निर्णयको विरोध गर्दै यसलाई अनुचित भनेको छ। अब्बास लगातार दोस्रो वर्ष न्यूयोर्कमा हुने महासभामा प्रत्यक्ष सहभागी हुन नपाउने भएका छन्। संयुक्त राष्ट्र महासभाले उनलाई भिडियोमार्फत सम्बोधन गर्न अनुमति दिएको छ।
