“सरकारका ६ महत्वपूर्ण निर्णय : पुँजीगत लाभकरदेखि साउदीमा नेपालीको क्षतिपूर्तिसम्म”
काठमाडौं : सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ६ मुख्य निर्णय सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका निर्णय सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन्।
बैठकले सरकारी निर्णय प्रक्रियालाई सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली–२०८३ स्वीकृत गरेको छ।
त्यस्तै, धितोपत्रमा प्राकृतिक व्यक्तिले ३६५ दिनभन्दा बढी समय स्वामित्वमा राखेको हितबाट प्राप्त लाभमा ३.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधिमा ५ प्रतिशत अग्रिम कर कायम गर्ने निर्णय गरिएको छ।
मन्त्रिपरिषद्ले नेपाल न्याय सेवा, न्याय समूहका प्रथम श्रेणीका अधिकृत खगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णयसमेत गरेको छ।
साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा तथा क्षतिपूर्ति रकमसम्बन्धी कानुनी प्रक्रिया अघि बढाउन साउदी नागरिक कानुन व्यवसायीलाई पावर अफ एटर्नी दिने आदेश जारी गर्ने निर्णय पनि भएको छ।
बैठकले चक्रीय राहत कोष सञ्चालन कार्यविधि–२०८३ स्वीकृत गर्नुका साथै नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ।
