नेपालमै बंगलादेशसँग ऐतिहासिक टी–२० सिरिज, कीर्तिपुरमा तीन खेल हुने 

काठमाडौं : नेपालले टेस्ट राष्ट्र बंगलादेशसँग घरेलु मैदानमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ। क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का अनुसार सिरिज सन् २०२७ मार्च २६, २८ र ३० मा काठमाडौंमा हुनेछ।

यो नेपालले घरेलु मैदानमा आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग खेल्ने पहिलो द्विपक्षीय टी–२० अन्तर्राष्ट्रिय सिरिज हुनेछ। यसअघि नेपाल र बंगलादेश टी–२० अन्तर्राष्ट्रियमा दुई पटक आमनेसामने भएका छन् र दुवै खेल बंगलादेशले जितेको थियो।

सिरिजलाई नेपालमा हालै आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको स्मृतिमा समर्पित गरिने बताइएको छ। नेपाल र बंगलादेशका क्रिकेट बोर्डले पुरुष तथा महिला टोलीको भ्रमण, हाई पर्फर्मेन्स कार्यक्रम, प्रशिक्षण र प्राविधिक सहयोगमा पनि सहकार्य बढाउने बताएका छन्।

यसअघि नेपालले सन् २०२५ मा शारजाहमा वेस्ट इन्डिज विरुद्ध तीन खेलको टी–२० सिरिज २–१ ले जितेको थियो। तर घरेलु मैदानमा पूर्ण सदस्य राष्ट्रसँग हुने यो पहिलो द्विपक्षीय टी–२० सिरिज हुनेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ