प्रधानमन्त्री शाह–बोल्डिन भेटवार्ता, नेपाल–अमेरिका सहकार्यबारे छलफल
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले बुधबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेकी छन्।
भेटमा पछिल्लो विपद्, राहत तथा पुनःस्थापना, जलवायु परिवर्तन, पर्यटन र नेपाल–अमेरिका आर्थिक सहकार्यका विषयमा छलफल भएको छ। प्रधानमन्त्री शाहले विपद्का बेला अमेरिकाले देखाएको ऐक्यबद्धता र सहयोग प्रति आभार व्यक्त गर्दै नेपालमा अमेरिकी लगानीलाई स्वागत गर्ने बताएका छन्।
बोल्डिनले रसुवाको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा अमेरिकाले सहयोग जारी राख्ने प्रतिबद्धता जनाएकी छन्। अमेरिकी पक्षका अनुसार विपद्पछिको पुनरुत्थानमा अमेरिकाले स्वास्थ्य, मानवीय तथा फरेन्सिक क्षेत्रमा ५० लाख अमेरिकी डलरभन्दा बढीको सहायता उपलब्ध गराएको छ।
