ट्रफीले फेरि ततायो विवाद, मैदानको जितभन्दा चर्चामा पुरस्कार 

एजेन्सी/दुबई — श्रीलंकालाई ७२ रनले हराउँदै आठौंपटक महिला एसिया कपको उपाधि जितेको भारतीय टोलीको ऐतिहासिक सफलताभन्दा पुरस्कार वितरण समारोहमा देखिएको विवाद बढी चर्चामा आएको छ।

फाइनलपछि भारतीय टोलीले एसियाली क्रिकेट परिषद् (एसीसी) का अध्यक्ष तथा पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीको हातबाट ट्रफी लिन अस्वीकार गरेपछि भारत–पाकिस्तानबीचको राजनीतिक तनाव फेरि क्रिकेट मैदानमा देखिएको हो।

दुबईमा भएको फाइनलमा भारतले पहिले ब्याटिङ गर्दै २० ओभरमा १८३ रन बनाएको थियो। स्मृति मन्धनाले ५९ र सेफाली वर्माले ६८ रन बनाए। जवाफमा श्रीलंका १११ रनमै समेटिएपछि भारत ७२ रनले विजयी हुँदै आठौंपटक च्याम्पियन बन्यो।

तर खेलपछि नक्वी ट्रफी प्रदान गर्न मञ्चमा उपस्थित हुँदा भारतीय खेलाडी ट्रफी लिन गएनन्। यसअघि पुरुष एसिया कपमा पनि भारतले नक्वीको हातबाट ट्रफी लिन अस्वीकार गरेको घटना चर्चामा आएको थियो।

यसपटक महिला टोलीले पनि उस्तै अडान लिएपछि मैदानमा भारतको जित भए पनि ट्रफी वितरणमा भारत–पाकिस्तान राजनीतिक तनाव हाबी भएको भन्दै क्रिकेट वृत्तमा बहस सुरु भएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ