इन्जिनमा समस्या, नेपाल एयरलाइन्सको एकमात्र सञ्चालनमा रहेको वाइडबडी जापानमा रोकियो 

काठमाडौं — नेपाल वायुसेवा निगमको हाल सञ्चालनमा रहेको एकमात्र वाइडबडी Airbus जहाज जापानको नारिता विमानस्थलमा प्राविधिक समस्याका कारण रोकिएको छ। सोमबार बिहान नारिताबाट काठमाडौं फर्किने तयारीका क्रममा जहाजको नम्बर–२ इन्जिनका २६ ब्लेडमध्ये एउटा क्षतिग्रस्त भेटिएपछि उडान रोकिएको हो।

नारिता–काठमाडौं उडानमा २२६ यात्रु सवार हुने थियो। जहाज स्थानीय समय अनुसार बिहान १०:३० बजे नारिताबाट उडेर दिउँसो ३ बजे काठमाडौं आइपुग्ने तालिका थियो।

निगमले क्षतिग्रस्त ब्लेड नारितामै उपलब्ध गराएर वा नेपालबाट पठाएर प्रतिस्थापन गर्ने प्रयास गरिरहेको जनाएको छ। जहाज मर्मत गरी उडानयोग्य प्रमाणित भएपछि मात्रै काठमाडौं फर्काइनेछ।

यसले निगमका अन्य अन्तर्राष्ट्रिय उडानमा पनि असर पार्न सक्ने देखिएको छ। अर्को वाइडबडी लामो समयदेखि इटालीमा मर्मतमा रहेकाले जापानमा रहेको जहाजसमेत रोकिएपछि निगमको अन्तर्राष्ट्रिय उडान व्यवस्थापन थप दबाबमा परेको छ। सोमबार रातिको काठमाडौं–दोहा र मंगलबार बिहानको दोहा–काठमाडौं उडान समेत प्रभावित हुन सक्ने निगमले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ