पुनर्निर्माणमा बजेट अभाव हुन दिन्नौं : प्रधानमन्त्री बालेन शाह

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका काममा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन्। सोमबार सिंहदरबारमा विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्दै उनले राज्यका सबै निकायलाई पुनर्निर्माणमा सक्रिय बनाइएको बताए।

छलफलमा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरू सहभागी थिए। स्थानीय जनप्रतिनिधिहरूले सडक र पुल क्षतिग्रस्त हुँदा राहत तथा पुनर्निर्माणमा कठिनाइ भइरहेको भन्दै यातायात सञ्जाल तत्काल सञ्चालनमा ल्याउन माग गरेका थिए।

विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठका अनुसार त्रिशूली नदी र आसपासमा करिब १९ वटा पुल बगेका छन् भने रसुवा–धादिङ–विदुर जोड्ने सडक अवरुद्ध हुँदा राहत र उद्धारमा समेत समस्या भइरहेको छ। प्रधानमन्त्री शाहले संघ, प्रदेश र स्थानीय तह मिलेर आवश्यक पूर्वाधार तत्काल निर्माण गर्ने प्रतिबद्धता जनाएको उनले बताए।

यसअघि सार्वजनिक सरकारी प्रारम्भिक आकलनअनुसार भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको समग्र पुनर्निर्माण तथा पुनरुत्थानका लागि करिब ७ खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ