सरकारमाथि नेपालको कडा टिप्पणी: जनअपेक्षा पूरा गर्न असफल 

वीरगन्ज — पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारले जनताको चाहना र अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्।

शनिबार वीरगन्जमा आयोजित पत्रकार भेटघाटमा बोल्दै नेपालले सरकारप्रति जनताको ठूलो अपेक्षा रहे पनि त्यसअनुसार परिणाम देखिन नसकेको बताए। विशेषगरी भदौ १० गतेको भोटेकोशी बाढीपछि बेपत्ताको खोजी, उद्धार तथा विपद् व्यवस्थापनमा सरकार चुकेको उनको आरोप छ।

नेपालले विपत्तिको सुरुवाती चरणमै भारत र चीनलगायत छिमेकी मुलुकबाट आवश्यक सहयोग लिन सकेको भए खोज तथा उद्धार थप प्रभावकारी हुन सक्ने बताए। उनले सरकारले खोजी कार्यमा पर्याप्त ध्यान दिन नसकेको दाबीसमेत गरे।

संविधान, संघीयता र समावेशितामाथि चुनौती बढिरहेको उल्लेख गर्दै उनले तिनको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच कार्यगत एकता आवश्यक रहेको बताए। जनताले सुशासनको अनुभूति गर्न नसकेको उनको टिप्पणी थियो।

नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पार्दै मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट शक्तिहरूबीच कार्यगत सहकार्य भने आवश्यक रहेको बताए।

उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गर्नसमेत माग गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ