संयुक्त राष्ट्रसंघको चिन्ताबीच मलेसियाबाट म्यानमारका नागरिक स्वदेश फिर्ता

क्वालालम्पुर : मलेसियाले आफ्नो हिरासतमा रहेका म्यानमारका नागरिकलाई चरणबद्ध रूपमा स्वदेश फर्काउन सुरु गरेको छ। पहिलो चरणमा १ हजार ४७६ जना म्यानमारका नागरिकलाई स्वदेश पठाइएको मलेसियाली अधिकारीहरूले जनाएका छन्।

फिर्ता पठाइएकामा ८ देखि ६० वर्ष उमेर समूहका पुरुष, महिला तथा बालबालिका रहेका छन्। उनीहरूलाई म्यानमारबाट आएका दुई नौसैनिक जहाज र एउटा अस्पताल जहाजमार्फत स्वदेश पठाइएको बताइएको छ।

मलेसियामा रहेका करिब ५ हजार म्यानमारका नागरिकलाई स्वदेश फर्काउने योजनाअन्तर्गत पहिलो समूह पठाइएको हो। मलेसियाली अधिकारीहरूले फिर्ती प्रक्रिया स्वेच्छिक रहेको र अनियमित आप्रवासन व्यवस्थापनसम्बन्धी नीतिअन्तर्गत कार्यक्रम अघि बढाइएको बताएका छन्।

तर म्यानमारको वर्तमान सुरक्षा अवस्थालाई लिएर संयुक्त राष्ट्रसंघ तथा मानवअधिकारसम्बन्धी संस्थाहरूले चिन्ता व्यक्त गरेका छन्। म्यानमारमा सशस्त्र द्वन्द्व र मानवअधिकार उल्लंघनका घटना जारी रहेकाले ठूलो संख्यामा मानिसलाई सुरक्षित र दिगो रूपमा स्वदेश फर्काउन अनुकूल अवस्था बनिनसकेको उनीहरूको भनाइ छ।

पहिलो चरणमा फिर्ता पठाइएका व्यक्तिमध्ये रोहिंग्या समुदायका नागरिक कति छन् भन्ने स्पष्ट भएको छैन।

म्यानमारमा सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि राजनीतिक अस्थिरता र सशस्त्र द्वन्द्व जारी छ। यही परिस्थितिका कारण ठूलो संख्यामा म्यानमारका नागरिक छिमेकी तथा अन्य मुलुकमा विस्थापित भएका छन्।

यसबीच मलेसियाले भने आफ्नो अध्यागमन नीतिअनुसार स्वदेश फर्कन सहमत म्यानमारका नागरिकलाई चरणबद्ध रूपमा पठाउने प्रक्रिया जारी राख्ने जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ