भारत–चीनबीच ‘सानो देश’ होइन अवसरको केन्द्र बन्ने नेपालको लक्ष्य : परराष्ट्रमन्त्री खनाल
न्युयोर्क — परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको पछिल्लो राजनीतिक परिवर्तनसँगै मुलुकलाई सुशासन, आर्थिक अवसर र युवाको आकांक्षामा केन्द्रित नयाँ दिशातर्फ अघि बढाउने प्रयास भइरहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कस्थित Asia Society मा आयोजित कार्यक्रममा उनले नेपालको भावी राजनीतिक तथा आर्थिक प्राथमिकताबारे धारणा राखेका हुन्।
खनालका अनुसार युवापुस्तामा भ्रष्टाचार, प्रशासनिक जटिलता र पर्याप्त अवसरको अभावप्रति देखिएको असन्तुष्टिले पछिल्लो राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको छ। उनले अब स्थिर तथा अनुमानयोग्य नीति, कानुनी शासन र प्रभावकारी संस्थागत संरचनामार्फत लगानी आकर्षित गर्दै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए।
भारत र चीनबीच रहेको नेपाललाई केवल ‘सानो मुलुक’का रूपमा हेर्न नहुने उल्लेख गर्दै खनालले दुई विशाल अर्थतन्त्रबीचको भौगोलिक अवस्थालाई अवसरमा बदल्नुपर्ने बताए। व्यापार, पर्यटन, लगानी, कनेक्टिभिटी र डिजिटल अर्थतन्त्र विस्तारमार्फत नेपालले आफ्नो रणनीतिक अवस्थाबाट आर्थिक लाभ लिन सक्ने उनको भनाइ थियो।
उनले सरकारको विकास अवधारणालाई ‘Developmental Autonomy’ का रूपमा व्याख्या गर्दै आगामी १० वर्षमा नेपाललाई मध्यम आय भएको मुलुक र सन् २०५० सम्म उच्च आय भएको विकसित मुलुक बनाउने दीर्घकालीन लक्ष्य रहेको उल्लेख गरे। भारत र चीनसँगको सम्बन्धलाई प्रतिस्पर्धा भन्दा आर्थिक अवसर र सहकार्यको आधारमा अघि बढाउँदै अमेरिका, युरोप, जापान, ASEAN तथा खाडी मुलुकसँग पनि साझेदारी विस्तार गर्ने नेपालको नीति रहेको उनले बताए।
विदेशमा रहेका करिब ५० लाख नेपालीलाई विप्रेषणको स्रोतका रूपमा मात्र नभई पूँजी, सीप, ज्ञान र प्रविधिसँग जोड्ने सम्भावना रहेको खनालको भनाइ थियो। स्वच्छ ऊर्जाको सम्भावनालाई उपयोग गर्दै नेपाललाई डिजिटल हबका रूपमा विकास गर्ने तथा Fintech र कृत्रिम बुद्धिमत्ता (AI) जस्ता क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने विषय समेत उनले अघि सारे।
📷 तस्बिर स्रोत: परराष्ट्र मन्त्रालय, नेपाल
