दुई महिनामा ६१ अर्ब नयाँ ऋण, नेपालको सार्वजनिक ऋण झन्डै ३० खर्ब
काठमाडौं — चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएको दुई महिनामै सरकारले ६१ अर्ब ५ करोड रुपैयाँ सार्वजनिक ऋण उठाएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार यसमध्ये ५० अर्ब रुपैयाँ आन्तरिक र ११ अर्ब ५ करोड रुपैयाँ बाह्य स्रोतबाट परिचालन गरिएको हो।
भदौ मसान्तसम्म सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। यो नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब ४५ प्रतिशत बराबर हो।
यसै अवधिमा सरकारले पुरानो ऋणको साँवा र ब्याज भुक्तानीमा करिब ८५ अर्ब रुपैयाँ खर्च गरेको छ। नयाँ ऋणभन्दा ऋण भुक्तानीमा बढी रकम खर्च भएकाले अघिल्लो आर्थिक वर्षको अन्त्यको तुलनामा कुल ऋण केही घटेको तथ्यांकले देखाउँछ।
सरकारले चालु आर्थिक वर्षभर ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। पहिलो दुई महिनामै वार्षिक लक्ष्यको करिब ९ प्रतिशत ऋण उठाइसकेको छ।
