तीन दिनको छलफलपछि एमालेले पारित गर्यो ओलीको राजनीतिक प्रतिवेदन
काठमाडौं — नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा बुधबार बसेको बैठकमा ओलीले सदस्यहरूबाट आएका सुझाव र प्रश्नबारे जवाफ दिएपछि प्रतिवेदन पारित गरिएको हो।
तीन दिनदेखि जारी बैठकमा पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले राजनीतिक प्रतिवेदनसँगै पार्टीको वर्तमान अवस्था, संगठनात्मक सुधार, नेतृत्व, पुनर्गठन र आगामी राजनीतिक कार्यदिशाबारे धारणा राखेका थिए। मंगलबारसम्म मात्रै ११८ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसकेका थिए।
ओलीले आफ्नो प्रतिवेदनमा नेतृत्व परिवर्तनलाई मात्रै पार्टी पुनर्गठनका रूपमा बुझ्न नहुने तर्क गरेका छन्। उनले पार्टीमा रूपान्तरण, जिम्मेवारी हस्तान्तरण र पुस्तान्तरण योजनाबद्ध रूपमा हुनुपर्ने धारणा राख्दै संगठनको कार्यशैली तथा निर्णय प्रक्रियामा सुधारको आवश्यकता औंल्याएका छन्।
बैठकअघि एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको विषयमा फरक धारणा देखिएका थिए। निर्वाचनपछिको पार्टीको अवस्थालाई लिएर केही नेताले नेतृत्वसहित संगठनात्मक संरचनामा परिवर्तनको आवश्यकता औंल्याएका थिए भने अर्को पक्षले नेतृत्व परिवर्तनभन्दा पार्टीलाई एकताबद्ध बनाएर संगठन सुधारमा केन्द्रित हुनुपर्ने धारणा राखेको थियो।
केन्द्रीय कमिटीको छलफलमा वामपन्थी एकता, प्रतिनिधिसभा पुनर्स्थापनाको बहस, आगामी स्थानीय तह निर्वाचनको तयारी तथा पार्टीलाई जनस्तरमा पुनःसुदृढ गर्ने विषयसमेत उठेका छन्। केही नेताले अध्यक्षको कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका थिए भने तत्काल नेतृत्व परिवर्तनभन्दा पार्टी एकता र संगठन सुदृढीकरणमा जोड दिने धारणा पनि बैठकमा आएको थियो।
एमालेका अनुसार केन्द्रीय कमिटी बैठक बिहीबार दिउँसो पुनः बस्नेछ। त्यसअघि बिहान पार्टी सचिवालयको बैठक बसेर थप निर्णय गर्ने कार्यक्रम रहेको छ।
