“एमालेको शीर्ष नेतृत्वमा विद्या भण्डारीको पुनरागमन, ओलीपछि दोस्रो वरियता”
काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय नेतृत्वमा फर्किएकी छन्। बिहीबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको हो। पार्टीको नयाँ जिम्मेवारीसँगै भण्डारी अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो वरियतामा रहने बताइएको छ।
भण्डारी राष्ट्रपति निर्वाचित भएपछि २०७२ सालमा पार्टीको औपचारिक जिम्मेवारीबाट अलग भएकी थिइन्। दुई कार्यकाल राष्ट्रपति बनेकी उनी पछिल्लो समय पुनः सक्रिय पार्टी राजनीतिमा फर्किने तयारीमा थिइन्। उनको एमाले सदस्यता र राजनीतिक भूमिकालाई लिएर पार्टीभित्र लामो समयदेखि छलफल हुँदै आएको थियो।
यसअघि एमाले सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव गरेको थियो। त्यसपछि उक्त प्रस्ताव केन्द्रीय कमिटीमा लगिएको र बैठकबाट जिम्मेवारी दिने निर्णय भएको हो। पार्टी विधानमा यसअघि रहेको वरिष्ठ नेताको व्यवस्था पछिल्लो विधान महाधिवेशनबाट हटाइएको भए पनि भण्डारीलाई नयाँ जिम्मेवारी दिइएको छ।
