ICC को नयाँ नियम लागू, ब्याटिङमा ढिलाइ गरे पाँच रनसम्मको सजाय

दुबई : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले खेलको गति कायम राख्न ब्याटिङ टोलीले अनावश्यक रूपमा समय खेर फाल्ने प्रवृत्तिमाथि कडाइ गर्ने नयाँ व्यवस्था लागू गरेको छ। नयाँ Playing Conditions अन्तर्गत ब्याटर निर्धारित समयमा खेलका लागि तयार नभए क्रमशः चेतावनी र पेनाल्टीको सामना गर्नुपर्नेछ।

नयाँ व्यवस्थाअनुसार पहिलो उल्लंघनमा ब्याटिङ टोलीलाई चेतावनी दिइनेछ। दोस्रो पटक गल्ती दोहोरिए अन्तिम चेतावनी दिइनेछ भने तेस्रो तथा त्यसपछिका प्रत्येक उल्लंघनमा विपक्षी अर्थात् फिल्डिङ टोलीलाई पाँच रन प्रदान गरिनेछ।

ICC का अनुसार बारम्बार समय खेर फाल्ने कार्य भए खेलाडीमाथि आचारसंहिताअन्तर्गत थप कारबाहीसमेत हुन सक्नेछ। नयाँ नियमको मुख्य उद्देश्य खेल अनावश्यक रूपमा ढिलो हुन नदिनु र निर्धारित गतिमा सञ्चालन गर्नु हो।

यो व्यवस्था पुरुष अन्तर्राष्ट्रिय क्रिकेटमा अक्टोबर १, २०२६ वा त्यसपछि सुरु हुने सिरिजमा लागू हुनेछ। त्यसअघि नै सुरु भएका सिरिज भने पुरानै Playing Conditions अनुसार सञ्चालन हुनेछन्।

ICC ले पछिल्लो परिवर्तनमार्फत खेलको गति, निष्पक्षता र नियमको एकरूपतालाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ। नयाँ व्यवस्थापछि अब ब्याटरले क्रिजमा अनावश्यक ढिलाइ गर्दा त्यसको प्रत्यक्ष असर टोलीको स्कोरमा समेत पर्न सक्नेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ