AI को तीव्र विकाससँगै बढ्यो चिन्ता, विश्वव्यापी सुरक्षा नियम बनाउन राष्ट्रसंघको जोड 

न्युयोर्क — कृत्रिम बुद्धिमत्ता (AI) को तीव्र विकाससँगै त्यसबाट उत्पन्न हुन सक्ने सुरक्षा, मानव अधिकार र सामाजिक जोखिम संयुक्त राष्ट्रसंघमा महत्वपूर्ण बहसको विषय बनेको छ। राष्ट्रसंघले AI को विकास सुरक्षित, जिम्मेवार र मानवकेन्द्रित हुनुपर्नेमा जोड दिएको छ।

राष्ट्रसंघअन्तर्गतको वैज्ञानिक प्यानलले AI को क्षमता तीव्र रूपमा विस्तार भइरहे पनि त्यसअनुसार सुरक्षा व्यवस्था विकास हुन नसकेको भन्दै साइबर सुरक्षा, गलत सूचना, बाल सुरक्षा, मानव अधिकार र प्रणालीको विश्वसनीयतामा विशेष ध्यान दिनुपर्ने जनाएको छ।

AI सम्बन्धी विश्वव्यापी निर्णयमा विकासशील मुलुकको समेत समान सहभागिता हुनुपर्ने आवाज उठेको छ। केही शक्तिशाली देश र ठूला प्रविधि कम्पनीमा मात्रै यसको नियमन सीमित हुन नहुनेमा राष्ट्रसंघका अधिकारीहरूले जोड दिएका छन्।

यसैबीच, संयुक्त राष्ट्रसंघले सुरु गरेको Global Dialogue on AI Governance मार्फत सुरक्षित र विश्वसनीय AI, पारदर्शिता, जवाफदेहिता तथा प्रविधिमा सबै देशको पहुँच सुनिश्चित गर्ने विषयमा अन्तर्राष्ट्रिय छलफल अघि बढाइएको छ।