सरकारमाथि ज्ञानेन्द्र शाहीको गम्भीर आरोप– ‘राज्यसत्ताको दुरुपयोग भइरहेको छ’
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले व्यक्तिगत प्रतिशोधका लागि राज्यसत्ताको दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।
सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले पूर्वप्रधानन्यायाधीशको पक्राउप्रति प्रश्न उठाउँदै कानुनी कारबाही प्रमाण र कागजातका आधारमा हुनुपर्ने बताए। उनले दुर्गा प्रसाईंलाई पटक–पटक पक्राउ गरिएको विषयमा पनि असन्तुष्टि जनाए।
सहकारी प्रकरणतर्फ संकेत गर्दै शाहीले जीबी राईलाई पक्राउ गरेर बचतकर्ताको रकम फिर्ता गराउनेतर्फ सरकारले प्राथमिकता दिनुपर्ने धारणा राखे।
व्यक्तिगत स्वार्थ र प्रतिशोधका आधारमा सरकार अघि बढे विगतको केपी शर्मा ओली नेतृत्वको सरकार र वर्तमान सरकारबीच फरक नदेखिने उनको भनाइ थियो।
शाहीले भ्रष्टाचार र अपराधविरुद्ध प्रमाणका आधारमा हुने कारबाही तथा सुशासनको अभियानमा सरकारलाई साथ दिने बताउँदै व्यक्तिगत ‘इगो’का लागि राज्यशक्तिको प्रयोग नगर्न आग्रह गरे।
