बजारमा नयाँ हजारको नोट, नक्कली नोट छुट्याउन सहज हुने सुरक्षा प्रविधि थपियो
काठमाडौं — नेपाली बजारमा एक हजार रुपैयाँको नयाँ डिजाइनको बैंकनोट प्रयोगमा आएको छ। नेपाल राष्ट्र बैंकले नयाँ स्वरूप र थप सुरक्षा विशेषता सहितको रु. १,००० दरको नोट चलनचल्तीमा ल्याएको हो।
नयाँ नोटको आकार पुरानै कायम राखिए पनि यसको दृश्य स्वरूप र सुरक्षण प्रविधिमा केही परिवर्तन गरिएको छ। नोटमा सगरमाथाको चित्र, लालीगुराँस र ‘१०००’ अंकको पानीछाप सहित नोटको वास्तविकता पहिचान गर्न सहयोग गर्ने विभिन्न सुरक्षा संकेत समावेश गरिएको छ।
दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न सहज होस् भनेर उठेको संकेतसमेत राखिएको छ। नोटलाई फरक कोणबाट हेर्दा रङ परिवर्तन हुने सुरक्षा तत्व पनि प्रयोग गरिएको राष्ट्र बैंकले जनाएको छ।
नयाँ नोटको पछाडि पट्टि चितवनमा जन्मिएका जुम्ल्याहा हात्ती राम र लक्ष्मणको चित्र राखिएको छ। नयाँ डिजाइनको नोट बजारमा आए पनि यसअघि जारी भएका वैध एक हजार रुपैयाँका नोट चलनचल्तीबाट तत्काल हट्ने छैनन्।
नयाँ नोट जारी भएसँगै सर्वसाधारणले कारोबार गर्दा यसमा रहेका सुरक्षा संकेतबारे जानकारी राख्नु नक्कली नोट पहिचानका लागि उपयोगी हुने राष्ट्र बैंकको भनाइ छ।
