प्रधानमन्त्री शाहले राष्ट्रसंघमा जलवायु न्यायको आवाज उठाउँदा बाहिर ‘Visit Nepal’ ले पर्यटनमार्फत पुनरुत्थानको सन्देश दिने

न्युयोर्क, अमेरिका — प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालको जलवायु संकट र जलवायु न्यायको मुद्दा अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने तयारी गरिरहेका बेला अमेरिकामा रहेका नेपालीहरूले सञ्चालन गरेको गैरनाफामूलक संस्था Visit Nepal ले राष्ट्रसंघ बाहिर शान्तिपूर्ण मौन प्रदर्शन गर्ने भएको छ।

सेप्टेम्बर २४ मा दिउँसो २ बजेदेखि ४ बजेसम्म आयोजना हुने मौन प्रदर्शनमार्फत Visit Nepal ले नेपाल र नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा उठाइरहेको जलवायु न्यायको आवाजप्रति ऐक्यबद्धता जनाउने जनाएको छ। प्रधानमन्त्री शाहले राष्ट्रसंघभित्र नेपालको जलवायु संकट र जलवायु न्यायको विषय उठाइरहँदा बाहिरबाट नागरिकस्तरमा नेपालको आवाजलाई थप बल पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।

तर Visit Nepal ले आफ्नो अभियानलाई जलवायु न्यायको मागमा मात्रै सीमित नराख्ने जनाएको छ। जलवायु न्यायको पैरवी संस्थाले अगाडि बढाएका पहलमध्ये एउटा महत्वपूर्ण पक्ष भए पनि अहिलेको अवस्थामा नेपालको पुनरुत्थानका लागि पर्यटनलाई प्रभावकारी माध्यमका रूपमा अगाडि बढाउनुपर्ने संस्थाको धारणा छ।

यसै उद्देश्यले Visit Nepal ले न्युयोर्कको कार्यक्रममार्फत विश्व समुदायलाई नेपाल भ्रमण गर्न र पर्यटनका माध्यमबाट नेपालको पुनरुत्थानमा सहयोग गर्न आह्वान गर्ने भएको छ। संस्थाले ‘Tourism-Led Recovery’ अर्थात् पर्यटनमार्फत पुनरुत्थानको अवधारणालाई जलवायु न्यायसम्बन्धी अभियानसँगै अगाडि बढाउने जनाएको छ।

नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकले होटल, रेस्टुरेन्ट, ट्राभल तथा यातायात व्यवसाय, पर्यटन तथा पदयात्रा गाइड, स्थानीय उत्पादन, हस्तकला र साना व्यवसायमा प्रत्यक्ष आर्थिक गतिविधि सिर्जना गर्ने भएकाले पर्यटनले स्थानीय नागरिकको जीविकोपार्जनदेखि राष्ट्रिय अर्थतन्त्रसम्म सकारात्मक योगदान पुर्‍याउन सक्ने संस्थाको विश्वास छ।

Visit Nepal का अनुसार नेपाललाई जलवायुजन्य विपद् र त्यसले पुर्‍याएको क्षतिको दृष्टिकोणबाट मात्रै विश्वसामु प्रस्तुत गर्नु पर्याप्त हुँदैन। नेपाल सुरक्षित र आकर्षक पर्यटन गन्तव्यका रूपमा विश्वका पर्यटकलाई स्वागत गर्न तयार रहेको सन्देशसँगै अन्तर्राष्ट्रिय समुदायलाई नेपाल भ्रमण गरेर स्थानीय अर्थतन्त्र र पुनरुत्थानमा प्रत्यक्ष योगदान गर्न प्रोत्साहित गर्नु पनि आवश्यक छ।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघभित्र नेपालको आवाज विश्व समुदायसमक्ष प्रस्तुत गरिरहँदा Visit Nepal ले बाहिरबाट नेपालसँग ऐक्यबद्धता जनाउँदै जलवायु न्याय, पर्यटन प्रवर्द्धन र पर्यटनमा आधारित आर्थिक पुनरुत्थानको सन्देश अगाडि बढाउने जनाएको छ।

संस्थाले न्युयोर्कबाट विश्व समुदायलाई दिने मुख्य सन्देश हो— “जलवायु न्यायका लागि नेपालसँग उभिनुहोस्, नेपाल भ्रमण गर्नुहोस्, स्थानीय समुदायलाई सहयोग गर्नुहोस् र नेपालको पुनरुत्थानको यात्रामा सहभागी बन्नुहोस्।”