श्रीलंकालाई १४७ रनले हराउँदै भारतले जित्यो एसियन गेम्स महिला क्रिकेटको स्वर्ण 

निस्शिन, जापान : भारतले श्रीलंकालाई १४७ रनको फराकिलो अन्तरले पराजित गर्दै २०२६ एसियन गेम्स महिला क्रिकेटको स्वर्ण पदक जितेको छ। मंगलबार कोरोगी स्पोर्ट्स पार्कमा भएको फाइनलमा भारतले ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गर्दै लगातार दोस्रो एसियन गेम्स स्वर्ण जितेको हो।

पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१६ रन बनायो। यो महिला एसियन गेम्स क्रिकेट इतिहासकै उच्च स्कोर हो। भारतका लागि स्मृति मन्धनाले ४५ बलमा ७९ रन, शेफाली वर्माले २९ बलमा ४८ रन तथा ऋचा घोषले अविजित ४९ रन बनाइन्।

२१७ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका १५.४ ओभरमा ६९ रनमै अलआउट भयो। कप्तान चमारी अथापथ्थुले २९ रन बनाए पनि अन्य ब्याटरले भारतीय बलिङसामु ठूलो साझेदारी बनाउन सकेनन्।

यस जितसँगै भारतले महिला क्रिकेटमा आफ्नो एसियन गेम्स उपाधि रक्षा गरेको छ भने श्रीलंकाले रजत पदकमा चित्त बुझाएको छ।


जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ