बंगालको न्यूनचापीय प्रणालीको असर : शुक्रबारदेखि अतिभारी वर्षाको सम्भावना, सरकार उच्च सतर्कतामा
काठमाडौं : बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले नेपालका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षा हुन सक्ने पूर्वानुमानपछि सरकारले विपद् पूर्वतयारी तीव्र बनाएको छ।
गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले मंगलबार काठमाडौंको बबरमहलस्थित मौसम पूर्वानुमान महाशाखा पुगेर आगामी मौसमी प्रणाली र त्यसबाट निम्तिन सक्ने जोखिमबारे मौसमविद्हरूसँग ब्रिफिङ लिएका छन्।
मौसमविद्हरूले शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको जानकारी दिएका छन्। सम्भावित वर्षाले बाढी, पहिरो तथा नदीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
गृहमन्त्री गुरुङले विगतका विपद्बाट पाठ सिक्दै जोखिमयुक्त क्षेत्रहरूमा पूर्वतयारी गर्न निर्देशन दिइएको बताए। नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा टोली परिचालन गर्नुका साथै स्थानीय नागरिकलाई उच्च सतर्कतामा राख्ने तयारी भइरहेको उनको भनाइ छ।
ऊर्जामन्त्री श्रेष्ठले चाडपर्वको समयमा यात्रा गर्नेहरूलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेका छन्। असोज १२ गतेसम्म जारी हुने मौसम तथा विपद्सम्बन्धी अलर्टलाई गम्भीरतापूर्वक पालना गर्नसमेत उनले अनुरोध गरेका छन्।
सम्भावित विपद्लाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रमा उद्धारकर्मी तथा सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ। जलविद्युत् आयोजनामा हुन सक्ने क्षति न्यूनीकरणका लागि मौसमसम्बन्धी सूचना निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरणसम्म निरन्तर पुर्याउने व्यवस्था गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए।
