विश्वमञ्चतर्फ प्रधानमन्त्री बालेन
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व गर्न अमेरिका प्रस्थान गरेका छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।
उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह मंगलबार साँझ कतार एयरवेजमार्फत न्युयोर्कतर्फ प्रस्थान गरेका हुन्। उनले असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ।
यसपटक नेपालको सहभागितामा जलवायु संकट र जलवायु न्याय प्रमुख विषयका रूपमा रहने तयारी छ। नेपालले जलवायु परिवर्तनबाट प्रभावित मुलुकले पाउनुपर्ने न्याय, जलवायु वित्तमा सहज पहुँच, प्रविधि हस्तान्तरण तथा विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोगको विषय उठाउने तयारी गरेको छ।
न्युयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।
प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा वाग्लेलाई उक्त जिम्मेवारी दिएका हुन्।
प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने कार्यक्रम छ। पहिलो विदेश भ्रमणमै संयुक्त राष्ट्रसंघको विश्वमञ्चमा पुगेका शाहको भ्रमण नेपालको कूटनीतिक उपस्थिति र जलवायु न्यायका मुद्दा प्रस्तुत गर्ने अवसरका रूपमा रहेको छ।
