युगान्डालाई ३९ रनले हराउँदै केन्या बन्यो अफ्रिका कन्टिनेन्टल कप च्याम्पियन
किगाली : केन्याले युगान्डालाई ३९ रनले पराजित गर्दै अफ्रिका कन्टिनेन्टल कप २०२६ को उपाधि जितेको छ। शनिबार रुवान्डाको किगालीस्थित गाहांगा इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको फाइनलमा केन्याले दिएको १७१ रनको लक्ष्य पछ्याएको युगान्डा १७.५ ओभरमा १३१ रनमै अलआउट भयो।
टस जितेर पहिले ब्याटिङ रोजेको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो। कप्तान धिरेन गोन्डारियाले ३२ बलमा ४४ रन बनाए भने ब्रायन लिकाभुले २१ बलमा अविजित ४१ रनको आक्रामक इनिङ खेले। फ्रान्सिस मुतुवाले १६ बलमा २९ रनको योगदान दिए।
१७१ रनको लक्ष्य पछ्याएको युगान्डाको सुरुवात निकै कमजोर रह्यो। टोलीले केवल २५ रन बनाउँदा पाँच विकेट गुमाइसकेको थियो। त्यसपछि रियाजत अली शाहले ३३ बलमा ५३ रन बनाएर टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि पर्याप्त साथ पाउन सकेनन्। युगान्डा अन्ततः १७.५ ओभरमा १३१ रनमा समेटियो।
केन्याको बलिङमा सचिन गिलले ४ ओभरमा मात्र १७ रन खर्चेर ३ विकेट लिए। लुकास ओलुओचले पनि तीन विकेट हात पार्दै युगान्डाको ब्याटिङ क्रम ध्वस्त पार्न महत्वपूर्ण भूमिका खेले।
फाइनलभन्दा एक दिनअघि भएको खेलमा भने युगान्डाले केन्यालाई ४७ रनले पराजित गरेको थियो। निर्णायक फाइनलमा केन्याले त्यस हारको बदला लिँदै उपाधि आफ्नो नाममा लेखाएको हो।
