हल सिटीलाई २–१ ले हराउँदै न्युक्यासल विजयी 

न्युक्यासल : इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडले हल सिटीलाई २–१ ले पराजित गरेको छ। शनिबार सेन्ट जेम्स पार्कमा भएको खेलमा सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेको न्युक्यासलले अन्तिम समयसम्म अग्रता जोगाउँदै तीन अंक हात पारेको हो।

न्युक्यासलका लागि जो विलकले तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाए। त्यसको चार मिनेटपछि लुइस हलले सातौँ मिनेटमा अर्को गोल गर्दै घरेलु टोलीलाई २–० को बलियो अवस्थामा पुर्‍याए। दुवै गोलका लागि हार्भी बार्न्सले असिस्ट गरेका थिए।

पहिलो हाफको इन्जुरी समयमा न्युक्यासलले अग्रता थप फराकिलो बनाउने अवसर पाएको थियो। तर योआने विस्साको पेनाल्टीलाई हलका गोलकिपर कोन्स्टान्टिनोस जोलाकिसले बचाए, जसका कारण पहिलो हाफ २–० मै सकियो।

दोस्रो हाफमा हल सिटीले खेलमा फर्किने प्रयास गर्‍यो। वैकल्पिक खेलाडी मोहम्मद-अली चोले ६७औँ मिनेटमा मोहम्मद बेलुमीको पासमा गोल गर्दै अन्तर २–१ मा झारे। त्यसपछि हलले बराबरीका लागि लगातार दबाब बनाए पनि न्युक्यासलको रक्षापंक्तिले अग्रता जोगायो।

यो नतिजासँगै न्युक्यासल अघिल्लो खेलमा लिड्ससँग बेहोरेको हारपछि जितमा फर्किएको छ। अर्कोतर्फ, प्रिमियर लिगमा बढुवा भएर आएको हल सिटीले जारी सिजनको पहिलो लिग हार बेहोरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ