स्वस्थ जीवन र राष्ट्रिय एकताको सन्देशसहित संविधान दिवस साइकल र्याली
ललितपुर : संविधान दिवसको अवसरमा ललितपुरमा फरक शैलीको सामाजिक अभियान सञ्चालन गरिएको छ। बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै शनिबार आयोजित साइकल र्यालीमा ३ सयभन्दा बढी सहभागी सडकमा उत्रिएका छन्।
‘बाढीपीडितका लागि साइकल र्याली, मानवताका लागि एकता’ नारासहित काठमाडौं शिक्षालय ललितपुरले महालक्ष्मी नगरपालिकाको सहयोगमा र्याली आयोजना गरेको हो। नगर प्रमुख हरिगोविन्द श्रेष्ठले र्यालीको उद्घाटन गरेका थिए।
विद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारी तथा साइकलप्रेमी सहभागी र्यालीले २० र २५ किलोमिटर दूरी पार गरेको थियो। इमाडोलबाट सुरु भएको यात्रा ग्वार्को, बालकुमारी, टिकाथली, बालकोट, लुभु र लामाटारलगायत क्षेत्र हुँदै पुनः विद्यालय परिसरमा पुगेर समापन भएको थियो।
र्यालीको दर्ता शुल्कबाट संकलित रकमको २५ प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने आयोजकले जनाएको छ। कार्यक्रमले संविधान दिवसको उत्सवसँगै बाढीपीडितप्रति सहयोग, सामाजिक जिम्मेवारी, स्वास्थ्य र वातावरण संरक्षणको सन्देशसमेत दिएको आयोजकको भनाइ छ।
