भारी वर्षापछि भियतनाममा बाढी र पहिरो, हजारौं घर डुबानमा 

हनोई : भियतनामको उत्तरी तथा मध्य क्षेत्रमा लगातारको भारी वर्षापछि आएको बाढी र पहिरोमा कम्तीमा चार जनाको मृत्यु भएको छ। बाढीका कारण १६ हजारभन्दा बढी घर डुबानमा परेका छन्।

राजधानी हनोईमा बेपत्ता भएका एक विश्वविद्यालय विद्यार्थीको शव ढल निकास प्रणाली नजिक फेला परेको छ। उनी बाढीको पानीसँगै बगेको आशंका गरिएको छ। त्यस्तै, फु थो प्रान्तको दा बाक क्षेत्रमा पहिरोमा परी तीन जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

बाढीबाट थान्ह होआ र निन्ह बिन्ह प्रान्त बढी प्रभावित भएका छन्। जोखिमयुक्त क्षेत्रबाट १५० परिवारका ५०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने उद्धार तथा खोजी कार्य जारी छ।

बाढीले २४ हजार हेक्टरभन्दा बढी धान, तरकारी तथा अन्य बाली डुबाएको छ भने १,१७६ हेक्टर जलकृषि क्षेत्र पनि प्रभावित भएको छ। सडक तथा तल्लो भूभागमा पानी जमेकाले यातायात र जनजीवनसमेत प्रभावित भएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ