स्पेनमा भारी वर्षापछि बाढी, यातायातसमेत प्रभावित
म्याड्रिड : स्पेनको पूर्वी क्षेत्रमा परेको मुसलधारे वर्षापछि क्याटालोनिया र भ्यालेन्सियाका विभिन्न स्थानमा बाढी तथा डुबान भएको छ। बार्सिलोनानजिकको ओलिभेलामा बाढीले कार बगाउँदा एक पुरुषको मृत्यु भएको छ। उनको शव कार भेटिएको स्थानभन्दा करिब ५०० मिटर टाढा फेला परेको अधिकारीहरूले बताएका छन्।
भारी वर्षाले बार्सिलोनाको मेट्रो तथा रेल सेवा प्रभावित भएको छ भने केही सडकमा आवागमन अवरुद्ध भएको छ। क्याटालोनियामा आपत्कालीन नम्बर ११२ मा एक हजारभन्दा बढी फोन आएका छन्। सिट्जेस क्षेत्रमा बाढी पसेपछि करिब २७० जनालाई क्याम्पसाइटबाट सुरक्षित स्थानमा सारिएको छ।
भ्यालेन्सियामा पनि सडक डुबानमा परेका छन्। वर्षाका कारण विमानस्थल केही समय बन्द गर्नुका साथै मेट्रो सेवा रोकिएको थियो। बिहीबार सेवा पुनः सञ्चालन गरिए पनि केही रुटमा समस्या कायमै रहेको अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूले बाढीको जोखिम भएका खोला तथा होचा क्षेत्रमा नजान र अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
