सुडानको सुनखानीमा भीषण दुर्घटना : ८२ जनाको मृत्यु, अझै दर्जनौँ बेपत्ता
खार्तुम : सुडानको पश्चिम कोर्डोफानस्थित एक सुनखानी भत्किँदा कम्तीमा ८२ जनाको मृत्यु भएको छ भने अझै दर्जनौँ मानिस बेपत्ता छन्।
अल–नुहुद नजिक रहेको अल–जारा सुनखानीका सुरुङहरू भत्किएपछि ठूलो संख्यामा खानी मजदुर फसेका हुन्। बुधबारसम्म उद्धारकर्ताले ८२ जनाको शव निकालेको स्थानीय अधिकारी तथा उद्धारमा संलग्न समूहले बताएका छन्।
दुर्घटनास्थल दुर्गम क्षेत्रमा रहेको र पर्याप्त भारी उपकरण उपलब्ध नभएकाले उद्धार कार्य कठिन बनेको छ। केही मजदुर ३० मिटरभन्दा बढी गहिराइमा फसेको आशंका गरिएको छ।
सुडानमा साना तथा अनौपचारिक सुनखानीहरू ठूलो संख्यामा सञ्चालनमा छन्। पर्याप्त सुरक्षा मापदण्ड र उद्धार उपकरणको अभावका कारण यस्ता खानीमा दुर्घटना बारम्बार हुने गरेको छ।
