काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ। सभापति गगन थापाले दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएका हुन्।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनामा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई बैठकमा उपस्थित हुन आग्रह गरिएको छ।
१४औँ महाधिवेशनपछि देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिमा रहेका पदाधिकारी तथा सदस्यहरू वर्तमान केन्द्रीय कार्यसमितिमा समायोजन भएपछि पहिलोपटक बैठक बस्न लागेको हो। देउवा पक्षका करिब ४० नेता वर्तमान केन्द्रीय समितिमा समायोजन हुँदै १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुने निर्णयमा पुगेका छन्।
समायोजित नेताहरूलाई समेत समेटेर कांग्रेसले तल्लो तहका अधिवेशनलाई तीव्रता दिएको छ। कार्यतालिकाअनुसार असोज ३ र ४ गते वडा, ७ गते पालिका तथा १० गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन हुँदैछन्।
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ। महाधिवेशन नजिकिँदै गर्दा समायोजित नेतासहित बस्न लागेको केन्द्रीय समिति बैठकलाई चासोका साथ हेरिएको छ।
