बाढीले खोस्यो घर, होल्डिङ सेन्टर बन्यो सहारा: २२० बालबालिकासहित ८५८ जना आश्रित 

रसुवा — लेन्दे खोला हुँदै नेपाल–चीन सीमाक्षेत्रको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट विस्थापित सयौँ नागरिक अझै विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका छन्। जिल्ला प्रशासन कार्यालयले जारी गरेको विवरणअनुसार रसुवा र काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा गरी कुल ८७० जना आश्रित छन्।

उत्तरगया गाउँपालिकास्थित नीलकण्ठ मावि, शिवालय आधारभूत विद्यालय, भीमसेन आधारभूत विद्यालय, गणेश आधारभूत विद्यालय सिरुचेत र सिम्ले आधारभूत विद्यालयमा बाढी प्रभावितहरूलाई राखिएको छ। यी केन्द्रमा महिला, पुरुष, बालबालिकासँगै गर्भवती तथा सुत्केरी महिलासमेत आश्रय लिइरहेका छन्।

त्यस्तै, गोसाइँकुण्ड गाउँपालिकाको कोमिन स्यामेवाङफेल मावि र लिङलिङस्थित गोम्बामा पनि बाढीबाट विस्थापित नागरिक बसिरहेका छन्। राजधानी काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा मात्रै ६०५ जना रहेको विवरणमा उल्लेख छ, जसमा २२३ महिला, २२० पुरुष र १६२ बालबालिका छन्।

बाढीका कारण घरबार छाड्न बाध्य भएका उत्तरगया गाउँपालिकाका २७५ परिवार भने नुवाकोटको विदुर नगरपालिका–५, पिपलटारमा जग्गा भाडामा लिएर टेन्ट टाँगी अस्थायी रूपमा बसिरहेका छन्। उनीहरू यसअघि तामाङ प्लाजा तथा नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा आश्रित थिए।

विनाशकारी बाढीपछि विस्थापित परिवारको सुरक्षित बसोबास, स्वास्थ्य, सरसफाइ तथा बालबालिकाको हेरचाह र शिक्षाको व्यवस्थापन अहिले प्रमुख चुनौती बनेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ