बाढीले टुटेको बाटो जोड्न तिब्बतको साथ: नेपाललाई दुई बेलीब्रिजसहित आपतकालीन राहत
काठमाडौं — बाढी तथा पहिरोबाट क्षतिग्रस्त यातायात सम्पर्क पुनःस्थापना गर्न तिब्बतले नेपाललाई दुईवटा बेलीब्रिज निर्माण गर्न पुग्ने सामग्रीसहित आपतकालीन राहत प्रदान गरेको छ।
तिब्बतबाट पठाइएको राहत सामग्री शुक्रबार चीनको सिगात्सेस्थित रिजी बन्दरगाहमा नेपाली पक्षलाई हस्तान्तरण गरिएको हो। राहत सामग्रीमा बेलीब्रिजका प्यानल, बलियो सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज डेकिङ तथा आई-बिमलगायत सामग्री समावेश छन्। ती सामग्रीबाट दुईवटा बेलीब्रिज निर्माण गर्न सकिने जनाइएको छ।
राहत हस्तान्तरणका क्रममा ‘साझा हिमाल, साझा नदी, सुखदुःखमा एकता’ भन्ने सन्देशसहित नेपाली र चिनियाँ भाषामा ब्यानर राखिएको थियो।
बाढीपहिरोका कारण सडक तथा पुलमा पुगेको क्षतिपछि प्रभावित क्षेत्रमा यातायात पुनःसञ्चालन गर्नुका साथै उद्धार, राहत र अत्यावश्यक सामग्री ढुवानी सहज बनाउने उद्देश्यले सहयोग उपलब्ध गराइएको हो।
ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहभागितामा भएको कार्यक्रममा महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले नेपाली पक्षबाट हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर गरेका थिए।
नेपाली पक्षले विपद्को कठिन समयमा प्राप्त शीघ्र सहयोगप्रति आभार व्यक्त गर्दै यसले नेपाल र तिब्बतबीचको मित्रता, सहकार्य र विपद्का बेला एकअर्कालाई साथ दिने सम्बन्धलाई थप बलियो बनाएको जनाएको छ।
