भोटेकोशी बाढी: १२ देशका ३१५ विदेशी पर्यटकको उद्धार
काठमाडौं — रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा रहेका ३१५ जना विदेशी नागरिक तथा पर्यटकको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले सोमबार साँझ ६ बजेसम्मको अवस्थाबारे जारी गरेको ‘सिचुएसन अपडेट–११’ मा उक्त जानकारी दिएको हो।
उद्धार गरिएकामध्ये सबैभन्दा धेरै भारतका १८७ र चीनका १०८ जना छन्। त्यस्तै माल्टा र जर्मनीका चार/चार, रुस, टर्की, अमेरिका र इटालीका दुई/दुई तथा स्विट्जरल्यान्ड, बुल्गेरिया, ओमान र पोर्चुगलका एक/एक जना रहेको पर्यटन बोर्डले जनाएको छ।
यी पर्यटकमध्ये धेरैजना गोसाइँकुण्ड तथा कैलाश मानसरोवर यात्राका क्रममा बाढी प्रभावित क्षेत्रमा फसेका थिए। पर्यटन बोर्ड तथा सुरक्षा निकायको समन्वयमा प्रभावित क्षेत्रमा विदेशी पर्यटकको खोज तथा उद्धार कार्य जारी छ।
अर्को रिपोर्टअनुसार ५८३ विदेशी नागरिकसँग अझै सम्पर्क हुन सकेको छैन, जसका कारण खोज तथा उद्धार अभियान निरन्तर चलिरहेको छ।
