“रसुवा बाढीको पीडा भरतपुरसम्म: १३५ शव पहिचान कक्षमा, शुक्रबार बिहानदेखि सनाखत” 

भरतपुर — रसुवाको भोटेकोशी बाढीमा बगेर चितवनसम्म आइपुगेका १३५ शव संकलन गरी भरतपुरको अस्थायी शव पहिचान कक्षमा ल्याइएको छ।

भरतपुरस्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको भवनमा शव संरक्षण तथा पहिचानको व्यवस्था गरिएको छ। शुक्रबार बिहान ७ बजेदेखि शवका तस्बिर प्रदर्शन गरी आफन्तबाट पहिचान प्रक्रिया सुरु गर्ने तयारी छ।

पहिचान नभएका शवलाई तस्बिर, कपडा, शरीरमा भएका चिनो तथा अन्य विवरणका आधारमा सनाखत गर्ने र आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि सम्बन्धित परिवारलाई जिम्मा लगाइनेछ।

बेपत्ता आफन्तको खोजीमा धेरै परिवार भरतपुर पुगेका छन् भने सुरक्षा निकाय र स्थानीय प्रशासन शव व्यवस्थापन तथा पहिचानमा परिचालित छन्।