राष्ट्रिय विपत्तिमा दलहरूको एउटै स्वर: ‘राजनीति होइन, पहिले उद्धार र राहत ।
काठमाडौं — भोटेकोशीसहितका नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रमुख राजनीतिक दलहरू उद्धार, राहत र पुनर्स्थापनामा एकजुट भएका छन्।
बिहीबार बसेको सर्वदलीय बैठकले विपद्को समयमा राहत र सहयोगलाई राजनीतिक प्रतिस्पर्धा वा सस्तो लोकप्रियताको माध्यम नबनाउने साझा प्रतिबद्धता जनाएको छ।
दलहरूले आफ्ना नेता–कार्यकर्ता तथा स्थानीय संयन्त्रलाई प्रभावित क्षेत्रमा परिचालन गर्दै उद्धार, राहत वितरण र पुनर्स्थापनामा सरकार तथा सुरक्षा निकायसँग समन्वय गर्ने बताएका छन्।
संकटको समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर पीडितको जीवनरक्षा, बेपत्ताको खोजी, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सबै पक्ष मिलेर काम गर्नेमा जोड दिइएको छ।
