पलाँता अस्पतालमा दिनमै कुटपिट, राति फेरि आक्रमण

:कालीकोटको पलाँता गाउँपालिका–९, थिर्पुस्थित पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि एकै दिन दुईपटक आक्रमण भएको छ। अस्पतालभित्र भिडियो गेम खेल्न नदिएको विषयमा विवाद हुँदा दिउँसो मेडिकल अफिसर डा. अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि कुटपिट भएको थियो।

त्यही राति फेरि अस्पतालमा प्रवेश गरी कर्मचारीमाथि आक्रमण गर्नुका साथै मेडिकल उपकरण, औषधि राख्ने र्‍याक, झ्याल तथा अन्य सामग्री तोडफोड गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न आरोपमा प्रहरीले व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

लगातारको आक्रमणपछि अस्पतालको सेवा प्रभावित भएको छ भने स्वास्थ्यकर्मीहरूले सुरक्षाको ग्यारेन्टी र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।