“कांग्रेसमा वारपार: देउवा पक्षले गगन नेतृत्वको महाधिवेशन अस्वीकार गर्‍यो”

काठमाडौं — नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर विवाद थप चर्किएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट बनेको संरचनाको वैधानिकतामाथि प्रश्न उठाउँदै त्यसले अघि बढाएको महाधिवेशन प्रक्रिया अस्वीकार गर्ने निर्णय गरेको छ।

देउवा पक्षले गत पुसमा भएको विशेष महाधिवेशन नै अवैधानिक रहेको दाबी गर्दै त्यसबाट निर्वाचित नेतृत्वले गरेका निर्णय आफूहरूलाई मान्य नहुने जनाएको छ। विशेष महाधिवेशनको वैधानिकता सम्बन्धी विषयमा अदालतमा पुनरावलोकनको प्रक्रिया समेत अघि बढिरहेको पक्षको भनाइ छ।

गगन थापा नेतृत्वको संस्थापन पक्षले भने असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका अघि बढाएको छ। संस्थापन पक्षले सबै पक्षलाई समेटेर महाधिवेशन सम्पन्न गर्ने प्रयास गरिरहेको जनाएको छ।

तर देउवा पक्षले असोज ३ गतेबाट सुरु हुने महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता–कार्यकर्तालाई आह्वान गरेको छ। उक्त पक्षले असोज १५ गतेदेखि वडा अधिवेशनको प्रक्रिया अघि बढाएर मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।

यससँगै कांग्रेसमा एउटै पार्टीभित्र दुई फरक महाधिवेशन प्रक्रिया अघि बढ्ने जोखिम बढेको छ। विवाद समाधान नभए वडा तहदेखि केन्द्रीय तहसम्म संगठनात्मक विभाजन र पार्टीको आधिकारिकता सम्बन्धी विवाद थप गहिरिन सक्ने देखिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ