हिम्लुङ हिमपहिरोमा ठूलो मानवीय क्षति, ८ जनाको शव हेलिकप्टरबाट निकालियो
काठमाडौं : मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको भीषण हिमपहिरोमा परी बेपत्ता भएकामध्ये आठ जनाको शव फेला परेको छ। फेला परेका शव नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको छ।
उद्धार गरिएका आठ शवमध्ये दुईवटा जिल्ला सदरमुकाम चामे र बाँकी छवटा नजिकैको फूगाउँ पुर्याइएको छ।
७ हजार १२६ मिटर अग्लो हिम्लुङ हिमाल आरोहणका क्रममा हिमपहिरो जाँदा दर्जनभन्दा बढी आरोही तथा उनीहरूका सहयोगी पुरिएर बेपत्ता भएका थिए। घटनापछि कठिन हिमाली भूगोल र प्रतिकूल परिस्थितिबीच खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ।
हालसम्म आठ जनाको शव फेला परे पनि अन्य बेपत्ताको अवस्था खुल्न सकेको छैन। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
हिमपहिरो प्रभावित क्षेत्रमा जारी उद्धार अभियानसँगै थप बेपत्ताको अवस्था पत्ता लगाउने प्रयास भइरहेको छ।
