‘विश्व शान्तिमा नेपालको प्रतिबद्धता कायमै’, राष्ट्रसङ्घका उपमहासचिवसँग परराष्ट्रमन्त्री खनालको छलफल
न्यूयोर्क — संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानमा लामो समयदेखि योगदान दिँदै आएको नेपालले आगामी दिनमा पनि विश्व शान्ति र सुरक्षाका लागि आफ्नो सहभागितालाई निरन्तरता दिने जनाएको छ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र राष्ट्रसङ्घका शान्ति सञ्चालन विभागका उपमहासचिव जाँ–पिइरे लाक्रोइक्सबीच न्यूयोर्कमा भएको भेटमा शान्ति मिसनमा नेपालको भूमिका र भावी सहकार्यबारे छलफल भएको हो।
भेटमा खनालले नेपाली सुरक्षाकर्मीमाथि राष्ट्रसङ्घले देखाउँदै आएको विश्वासको प्रशंसा गर्दै आवश्यकता र औपचारिक अनुरोध भए नेपालले १० हजारसम्म शान्ति सैनिक उपलब्ध गराउन सक्ने जानकारी गराएका छन्। हाल करिब १२ वटा राष्ट्रसङ्घीय शान्ति अभियानमा चार हजार तीन सयभन्दा बढी नेपाली सेना तथा प्रहरी कार्यरत रहेको सार्वजनिक विवरणमा उल्लेख छ।
खनालले कठिन परिस्थितिमा समेत नेपाली शान्ति सैनिकले अनुशासन, व्यावसायिकता र जिम्मेवारीका साथ काम गर्दै आएको उल्लेख गरे। नेपालले प्रशिक्षण, कार्यसम्पादन, जवाफदेहिता र अन्तरसञ्चालन क्षमतामा राष्ट्रसङ्घीय मापदण्डअनुसार सुधारलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ।
भेटमा शान्ति अभियानले सामना गरिरहेको वित्तीय दबाबसमेत छलफलको विषय बनेको थियो। राष्ट्रसङ्घको आग्रहअनुसार अधिकारीहरूको कार्यावधि विस्तार, व्यावसायिक उडानबाट शान्ति सैनिक परिचालन तथा सामग्री र उपकरण ढुवानीमा समायोजनजस्ता खर्च घटाउने उपायमा नेपालले सहयोग गर्दै आएको खनालले बताएका छन्।
नेपाल प्रमुख सैनिक तथा प्रहरी योगदानकर्ता मुलुकमध्ये रहेकाले आगामी मिसनमा जनशक्ति परिचालनसँगै नेपाली सुरक्षाकर्मीलाई नेतृत्व तहमा थप अवसर दिनुपर्ने विषय पनि खनालले उठाएका छन्। उनले नेपालको दीर्घकालीन योगदानलाई भविष्यका परिचालन तथा नेतृत्व अवसरमा उचित रूपमा सम्बोधन गर्न आग्रह गरे।
उपमहासचिव लाक्रोइक्सले विभिन्न द्वन्द्व प्रभावित क्षेत्रमा विश्व शान्ति स्थापनाका लागि नेपाल र नेपाली सुरक्षाकर्मीले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेका छन्। उनले राष्ट्रसङ्घीय शान्ति अभियानले सामना गरिरहेका चुनौती सम्बोधन गर्नुपर्ने आवश्यकता पनि औँल्याएका छन्।
