युद्ध र प्रतिबन्धको दबाबबीच इरानी रियाल इतिहासकै कमजोर स्तरमा 

तेहरान — इरानको मुद्रा रियाल अमेरिकी डलरको तुलनामा इतिहासकै कमजोर स्तरमा पुगेको छ। मंगलबार तेहरानको खुला बजारमा एक अमेरिकी डलर बराबर २५ लाखभन्दा बढी रियाल मा कारोबार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सेप्टेम्बर २ मा एक डलरको मूल्य करिब २२ लाख रियाल पुगेको थियो। त्यसको एक महिनाभन्दा कम समयमै रियाल थप कमजोर हुँदै नयाँ न्यून स्तरमा पुगेको हो। युद्धको प्रभाव र अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण इरानको अर्थतन्त्र तथा विदेशी मुद्रा आपूर्तिमा दबाब बढेको छ।

अमेरिकी प्रतिबन्ध र इरानी तेल निर्यातमा परेको असरले पनि अर्थतन्त्रमा चुनौती थपेको छ। रियालको तीव्र अवमूल्यनले आयातित वस्तु महँगिने र सर्वसाधारणको क्रयशक्ति थप कमजोर हुने चिन्ता बढाएको छ।

यसैबीच अमेरिका र इरानबीच तनाव कम गर्ने कूटनीतिक प्रयास जारी छन्। स्ट्रेट अफ हर्मुजको अवस्थासहित विभिन्न विषयमा अप्रत्यक्ष वार्ताको प्रयास भइरहे पनि अहिलेसम्म ठोस सहमति भएको छैन।