युद्ध अन्त्यको प्रस्तावमा अमेरिकाको औपचारिक जवाफ पाएको इरानको भनाइ 

तेहरान : इरानले सात महिनादेखि जारी अमेरिका–इरान युद्ध अन्त्य गर्ने उद्देश्यले अघि सारेको पछिल्लो प्रस्तावमा अमेरिकाबाट औपचारिक जवाफ प्राप्त भएको जनाएको छ। इरानी सरकारकी प्रवक्ता फातेमेह मोहाजेरानीका अनुसार विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी जवाफ राष्ट्रपति मसुद पेजेस्कियनसमक्ष प्रस्तुत गरेका छन्।

इरानले युद्ध अन्त्यसँगै रणनीतिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुज पुनः खोल्ने प्रस्ताव अघि सारेको छ। वार्तामा इरानी बन्दरगाहमाथिको नाकाबन्दी, तेल बिक्री सम्बन्धी प्रतिबन्ध, विदेशमा रोकिएका इरानी सम्पत्ति तथा परमाणु कार्यक्रम र अन्तर्राष्ट्रिय निरीक्षण जस्ता विषयसमेत जोडिएका छन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रारम्भिक प्रस्ताव अस्वीकार गरेको बताएका थिए। त्यसपछि कतार लगायत मध्यस्थकर्ताको पहलमा दुवै पक्षबीच अप्रत्यक्ष संवाद जारी रहेको छ।

इरानले सम्झौताका लागि प्रयास जारी राख्ने जनाएको छ। तर अमेरिकाबाट प्राप्त पछिल्लो जवाफमा के सर्त राखिएको छ र त्यसलाई इरानले स्वीकार गर्ने वा थप वार्ता अघि बढाउने भन्ने विषय भने अझै सार्वजनिक गरिएको छैन।