भोटेकोशी विपद्को कारण खोज्न राष्ट्रिय सभाले बनायो विशेष समिति 

काठमाडौं : भोटेकोशी तथा कालीगण्डकी करिडोर क्षेत्रमा भएका विपद्को अध्ययनदेखि पुनर्स्थापना, पुनर्निर्माण र जोखिम न्यूनीकरणसम्मको मार्गचित्र तयार गर्न राष्ट्रियसभाले संसदीय विशेष समिति गठन गरेको छ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १६७ बमोजिम एक सदस्य पछि थप गर्ने गरी नौ सदस्यीय ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’ गठन गरिएको जानकारी दिए।

समितिमा कृष्णप्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा सदस्य छन्।

समितिले विपद्का विभिन्न पक्षको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण तथा जलवायु न्यायका विषयमा आवश्यक मार्गचित्रसहित राष्ट्रियसभामा प्रतिवेदन पेस गर्नेछ।

समितिको कार्यावधि २०८३ पुस मसान्तसम्म रहनेछ। आफ्नो जिम्मेवारी व्यवस्थित रूपमा पूरा गर्न समितिले आवश्यक कार्यविधि, कार्ययोजना र कार्यतालिका बनाएर काम गर्न सक्ने अध्यक्ष दाहालले जानकारी दिए।Content  

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ