भीषण बाढीपछि थाइल्यान्ड सरकारले १२२ मिलियन डलर आपत्कालीन सहायता स्वीकृत

बैंकक — थाइल्यान्ड सरकारले देशका विभिन्न क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि ४.१ अर्ब भाट अर्थात् करिब १२२ मिलियन अमेरिकी डलर बराबरको आपत्कालीन राहत रकम स्वीकृत गरेको छ। सरकारी प्रवक्ताका अनुसार गृह मन्त्रालयमार्फत बाढीपीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराइनेछ। 

सेप्टेम्बरको मध्यदेखि जारी बाढीबाट २६ लाखभन्दा बढी मानिस प्रभावित भएका छन्। एसोसिएटेड प्रेसले सरकारी विवरण उद्धृत गर्दै कम्तीमा १९ जनाको मृत्यु भएको जनाएको छ। यद्यपि थाइल्यान्डको विपद् व्यवस्थापन विभागको मंगलबार बिहानको पछिल्लो तथ्यांकमा मृतक संख्या २३ पुगेको उल्लेख छ। 

राजधानी बैंककसहित देशका २९ प्रान्तमा अझै बाढीको प्रभाव रहेको छ। बैंककमा मात्रै करिब सात लाख मानिस प्रभावित भएका छन्। केही क्षेत्रमा पानी घट्न थाले पनि पूर्वी बैंकक तथा तल्लो भूभागका सडक र बस्ती अझै डुबानमा छन्।

बाढीका कारण यातायात, व्यवसाय र हवाई सेवामा समेत असर परेको छ। बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी अभाव र उडान रद्द हुँदा यात्रुका सामान व्यवस्थापनमा ठूलो समस्या देखिएको छ। सरकारले प्रभावित क्षेत्रमा पानी निकास, उद्धार तथा राहत वितरणलाई तीव्र बनाएको जनाएको छ। 

📷 Thailand Government Public Relations Department (PRD)