बाढी–पहिरोले जनजीवन प्रभावित : २५ जिल्लामा गाडी ठप्प, ठूला नदीमा सतर्कता 

काठमाडौं : लगातारको वर्षाले देशभर जनजीवन प्रभावित बनेको छ। बाढी र पहिरोका कारण ५४ सडकखण्ड अवरुद्ध हुँदा हजारौं यात्रु बीच बाटोमै रोकिएका छन् भने प्रमुख नदीमा जलसतह बढेपछि तटीय क्षेत्रमा सतर्कता बढाइएको छ।

सप्तकोशीमा वर्षकै उच्च बहाव देखिएपछि कोशी ब्यारेजका ५६ मध्ये ४३ ढोका खोलिएका छन्। नारायणीमा पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ३६ ढोका खोलिएको छ। कालीगण्डकीको मोदीवेणी क्षेत्रमा समेत जलसतह चेतावनी तह पार गरेपछि आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

गण्डकी प्रदेशमा मात्रै १६ भन्दा बढी मुख्य सडकखण्ड बन्द भएका छन्। सिद्धार्थ राजमार्ग, मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर र बेनी–जोमसोम सडकसमेत प्रभावित भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १४३ विपद्का घटना भएका छन्। ती घटनामा तीन जनाको मृत्यु, एक जना बेपत्ता र १३ जना घाइते भएका छन् भने ४२२ जनाको उद्धार गरिएको छ।

बाढी–पहिरोको जोखिमका आधारमा २५ जिल्लालाई उच्च जोखिममा राख्दै सवारी सञ्चालन पूर्ण रूपमा बन्द गर्न सुझाइएको छ। वर्षा पूर्वबाट पश्चिमतर्फ केन्द्रित हुने अनुमानसँगै पश्चिम तराईमा भारी वर्षाको सम्भावना रहेकाले थप सतर्कता अपनाउन आग्रह गरिएको छ।